राजनीति

एमसीसीमा चीन-अमेरिका खुलमखुल्ला भिड्दै, रणमैदान बन्दै नेपाल (भिडियोसहित)


काठमाडौँ – नेपालमा एमसीसी सम्झौतामाथि लफडा मच्चिएर मुलुकको राजनीति नै बिथोलिएका बेला दुई ठुला शक्ति राष्ट्रका चेतावनीपूर्ण सन्देशले झनै अनिष्टको संकेत गरेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले एमसीसी कार्यान्वयनका लागि अमेरिकाले नेपालमा बलजफ्ती गरेको आरोप लगाए । वेईजिङमा पत्रकार सम्मेलन गर्दै चीनको आधिकारिक धारणा सार्वजनिक गरेका वेनबिङले एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई नेपालमाथि दबाब दिइरहेको अर्थमा बुझेको स्पष्ट पारेको छ । अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको चीनको सन्देश छ । जुन आफ्ना लागि स्वीकार्य नभएको भन्दै प्रतिरोध गर्नेचीनको चेतावनी छ ।

चीनको धारणा सार्वजनिक भएलगत्तै यता अमेरिकाले समेत सन्देश जारी गरेको छ ।नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरु आफ्ना लागि स्वीकार्य नहुने भन्दैघुमाउरो तरिकाले चीनको प्रतिवाद गरेका छन् । दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘लोकतन्त्रमा शान्तिपूर्वकविचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य छैन । हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो ।’

यी दुई सन्देशले नेपाल दुई ठुला महाशक्ति राष्ट्रको टकरावमा भासिएको स्पष्ट संकेत गरेको छ ।किनकि एमसीसी सम्झौता रोक्न पछिल्लो समय चीन लागिपरेको चर्चा चल्दै आएको छ । यसका लागि एमसीसी विरोधी दलहरुलाई प्रभावमा पारेर खेल्दै आएको आरोप खेपेको चीन अब भने खुलमखुल्ला उत्रिएको हो ।

अमेरिका भने नेपालमा एमसीसी लागू गर्न जस्तो सुकै मूल्य चुकाउन तयार छ । यसका लागि नेपालका राजनीतिक दलहरुलाई प्रभावमा पार्नेदेखि नेताहरुका घरघरमा पुगेर चेतावनी पूर्ण भेटवार्ता चलाइरहेको छ । सदनदेखि सडक एमसीसीका मुद्धामा विभाजित भएका बेला दुई ठुला राष्ट्रको खुला टकराव सुरु भएसँगै नेपाल कतै रणभूमि बन्दै त छैन भन्ने चिन्तासमेत सुरु भएको छ ।