राजनीति

एमसीसीबारे चीनले भन्यो : अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं


काठमाडौँ — चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन् ।

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए ।

वाङले नेपालको आर्थिक विकास र जीवनस्तर सुधारका लागि योगदान गर्ने अन्तरराष्ट्रिय समुदायको स्वागत गर्ने बताए। यो सहयोग कुनै राजनीतिक परिस्थितिमा आधारित नभई नेपाली जनताको चाहनामा हुनुपर्ने उनको दाबी छ ।

‘नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छु, उनले भने, ‘तर यो शर्तरहित नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ ।’ नेपालको असल छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासको मार्ग छनोट गर्नका लागि सहयोग गर्ने उनको दाबी छ ।

नेपालले राष्ट्रिय हितअनुसार निर्णय लिने र जनताको चाहनालाई समर्थन गर्ने उसको भनाइ छ। उनले भने‚ ुनेपालको विकासमा चीनले सहायता प्रदान गर्नेछ ।’

दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले नेपालका नेताहरूलाई फोन गरी २८ फेब्रुअरीसम्म एमसिसी सम्झौता अनुमोदन गर्न भनेका थिए । नेपाल र अमेरिका सन् २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका थिए । एमसिसी सम्झौताको अमेरिकी अनुदान सहायता स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा नेपालका राजनीतिक दल विभाजित भएका छन् । नेपालमा सम्झौताका आलोचकले नेपालको सम्प्रभुता, अखण्डता र संवैधानिक स्वायत्तता कमजोर हुने दाबी गर्न थालेका छन् ।

नेपालमा एमसिसीलाई अमेरिकाको इण्डो-प्यासिफिक सैन्य रणनीतिको रूपमा हेरिएको छ । इण्डो-प्यासिफिक रणनीति चीनलाई लक्षित गरिएको छ । नेपाली जनता चीनविरोधी उक्त संगठनमा नेपाल सहभागी नहओस् भन्ने चाहेको चीनको बुझाइ छ ।