राजनीति

प्रधानमन्त्रीसँग दुई विकल्प छन्, एमसीसी पास गर्ने वा गठबन्धन जोगाउने : शशांक कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठक पछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे गलत धारणा फैलाइएको बताए ।

‘एमसीसी नेपालको लागि राम्रो हो । तर अमेरिकी सेना यहाँ आउँछन् लगायतका कुरा फैलाइएको छ । ९ वटा मुलुकमा एमसीसी चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन्। त्यसलाई पनि आधार मानेर एमसीसी हामीले पारित गर्नुपर्छ,’ उनले भने ।

शशांकले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमसीसी पास गर्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको समेत बताएका छन् ।

‘शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो विकल्प उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ। एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने म देख्छु । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुई मध्ये एउटा मात्रै हुनसक्छ’ उनले भने । उनले ५ सय मिलियन डलरको परियोजना नेपालका लागि राम्रो भएको भन्दै त्यसपछि अमेरिकाको अर्को स्वार्थ नभएको समेत दाबी गरे ।