राजनीति

एमसीसीबारे गठबन्धनबीच निर्णायक बैठक आज


काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।