राजनीति

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार ९ बजे पुन: बैठक बस्ने

एमसीसीबारे सहमति जुटेन


काठमाडौँ — एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो । प्रधानमन्त्री देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।

नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको प्रयास गर्ने भन्दै ९ बजेका लागि बैठक तय भएको हो ।