राजनीति

स्थानीय निर्वाचनका लागि आजदेखि दल दर्ता, सार्वजनिक बिदाको दिन पनि दर्ताका लागि कार्यालय खुल्ने


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ । फागुन १५ गतेसम्मका लागि दल दर्ता खुला गरेको आयोगले जनाएको हो ।

सरकारले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । आयोगमा हाल एक सय ६ वटा दल दर्ता भएका छन् । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्ने छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउन आयोगले भनेको छ । दल दर्ताका लागि सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने आयोगले जनाएको छ ।