राजनीति

एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, नेताहरूको अडानले गठबन्धनको भविष्य अन्योलमा


काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूबीच दिउँसो ३ बजे बस्ने बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको हो ।

सम्भवतः आजको बैठकबाट संसद्मा एमसीसी अघि बढ्ने÷नबढ्ने वा कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबारकै संसद् बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर, दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

जसरी पनि एमसिसी संसद् लैजाने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी र एक्लै अघि बढे सरकारबाट बाहिरिने माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानपछि गठबन्धनको भविष्य अन्योलमा छ । आजको बैठकले गठबन्धन र एमसीसीबारे अन्तिम फैसला गर्ने नेताहरूले बताएका छन् ।