पत्रपत्रिका

‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था


काठमाडौँ – आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गतेलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरेको छ । विगतमा निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने स्थिति थियो ।

आयोगले १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकता प्राप्त गर्ने नागरिकको मतदाता नामावलीमा नाम संकलन गर्दै आएको छ । यसरी नाम संकलन गरिएका मध्ये निर्वाचनको मिति घोषणा गरिएको दिनमा १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । यसलाई निरन्तरता दिँदा करिब दुई लाख युवा मतदान गर्नबाट वञ्चित हुने स्थिति देखिएको थियो । यसले गर्दा ‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था गरिएको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट