राजनीति

यसकारण संसदमा टेबल भएन एमसीसी, शुक्रबार पेस गर्ने सरकारको तयारी (भिडियोसहित)


काठमाडौँ — प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउन एकजुट भएका सत्ता गठबन्धनका दलहरु एमसीसी संसदमा टेबल गराउने विषयमा भने तित्तरबितर देखिए । बुधबार नै संसद्मा एमसीसी टेवल गर्ने सरकारको तयारी भएपनि अन्तिम समयमा संसदमा टेबल हुन सकेन । यो संगै अव एमसीसी के हुन्छ भन्ने अन्योल बढेको छ ।

सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच सहमति नहुँदा एमसीसीे सम्झौता फेरि अन्योलमा परेको छ । तीन दिनअघि सहमति भएको भनिए पनि बुधबारसम्म आइपुग्दा गठबन्धनभित्र अविश्वास झन् बढेको छ । दलहरुबीच सहमती नहँुदा बुधबार संसदमा टेबल गर्ने भनिएको एमसीसी कार्यसुचिमै परेन । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारीबाट ब्याक भएका थिए । यता नेकपा एमालेले पनि पछिल्लो परिस्थिति हेरेर एमसीसीको विरोधमै उभिने छनक देखाइरहेको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् । माओवादीले एमसीसीलाई सडकमा उठेको आवाजलाई टिपेर राष्ट्रघाति भन्दै आएको छ ।

माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपनि एमसीसी हुबहु पारित गर्नुहुन्न भन्दै आएको एकिकृत समाजवादी पार्टीले आधिकारिक रुपमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने निर्णय गरेको छैन् । तर, उसले सहमति नभइ सकेको अवस्थामा एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुनेमा जोड दिदै आएको छ । असहमतिको विषयमा बल प्रयोग गरेर धाकधम्की दिएर नहुने एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको तर्क छ ।

सत्ता साझेदार दल माओवादी र एकिकृत समाजवादीको असहमतिका कारण आजको बैठकमा एमसीसी पेश नभए पनि शुक्रबार एमसीसी पेश गर्ने सरकारको तयारी छ । बिहिबार गठबन्धनको बैठकमा निर्णयक छलफल गर्ने र शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमसीसी टेवल गर्ने तयारमिा रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले बताए ।

सकेसम्म गठबन्धनमा सहमति जुटाउने, यदि माओवादी केन्द्र र एकिकृत समाजवादीले साथ नदिए गठबन्धन तोडेर, एमालेलाई फकाएर भएपनि एमसीसी अघि बढाउने प्रधानमन्त्री देउवाको योजना छ । त्यसका लागि उनले एमाले अध्यक्ष ओलीसँग समेत संवाद गरिरहेका छन् । यसरी आफ्नै सत्ता साझेदार दलहरुमै तिव्र मतभेद भएपछि एमसीसी के हुने रके गर्ने भन्नेमा प्रधानमन्त्री समेत सकसमा परेको छ ।