राजनीति

भीम रावलले भने : एमसीसीबारे संसदमा छलफल हुनुपर्छ


काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

‘यत्रो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न त पाउनुपर्‍यो नि, जनताले संसदमार्फत थाहा पाउनुपर्‍यो नि’ उनले भने ।

नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ ।

रावलले संसद अवरोधकै बीच सरकारले ल्याएका कतिपय प्रस्ताव पारित गर्ने तर महत्वपूर्ण विषयमा छलफल नगरी पारित गर्ने षड्यन्त्र भएको बताए । एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नेता रावलले आफूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।