राजनीति

एमसीसीमा असहमति हुँदाहुँदै जबरजस्ती गर्नुहुन्न : झलनाथ खनाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नहुँदा नहुँदै अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने बताएका हुन् ।

खनालले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए । ‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ खनालले भने ।

सत्तारुढ गठबन्धनमै रहेर सरकार संसदमा पेश गर्न लागेको प्रस्तावको विरोध गर्न हुन्छ भन्ने प्रश्नमा खनाल आक्रोशित देखिए । खनालले भने ‘मज्जाले हुन्छ, कसले भन्यो हुँदैन भनेर मलाई सोध्नुस् । गठबन्धन पनि हुन्छ, सडकमा पनि हुन्छ, सदनमा पनि हुन्छ ।’