राजनीति

काठमाडौँ उपत्यकाका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति


काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता बढाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ वटा साना कम्युनिष्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेका हुन् ।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन । यद्यपि सवारीसाधन भने अघिल्लो दिनको तुलनामा केही कम चलेका छन् । बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् । काठमाडौं उपत्यकाका मुख्य मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

बन्दकर्ताले गर्नसक्ने उच्छृंखल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले सर्कुलर नै जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको छ । यसैबीच, काठमाडौं उपत्यकाबाट प्रहरीले करिब २ दर्जन बन्दकर्तालाई पक्राउ गरेको छ ।