समाचार

हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत भेटिए


काठमाडौँ — हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् ।

बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका एक स्थानीयले जानकारी दिए ।

‘बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवै जना भेटिए,’ स्थानीयले भने, ‘त्यसपछि हिउँले पुरिएर हराइरहे । अहिले बल्ल हिउँ पग्लिँदै गएर देखियो ।’ शवलाई साँझ गाउँमा ल्याइएको उनले बताए । गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनदेखि बेपत्ता थिए । उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजना सक्रिय थिए ।