समाचार

काठमाडौँ उडेको गुण एयरलाइन्सको जहाज चरासँग ठोक्कियो


काठमाडौँ — धावनमार्ग छाड्नसाथ चरा ठोक्किएपछि विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको गुण एयरलाइन्सको ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर नै फर्काइएको छ ।

विमानस्थल प्रशासन र गुण एयरलाइन्सले भने यसको आधिकारिकरुपमा पुष्टि गरिसकेका छैनन् । प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार विराटनगरबाट लगभग साँझ ६:३० बजेतिर उडेको जहाज चार ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन । उचाई लिएर लगभग ५ मिनेटजति उडेपछि चालक दलका सदस्य पुनः फर्काएर यात्रुलाई सुरक्षित साथ विराटनगर विमानस्थलमै अवतरण गराउन सफल भए ।

उडान नम्बर ७२४ रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना रहेको बताइएको छ । उनीहरु सबै सकुशल छन् । अरु विवरण खुल्न बाँकी छ । जहाज पनि सुरक्षित छ ।