राजनीति

माओवादीको जनयुद्धको २७ वर्ष पूरा, मुद्दा बोक्ने माओवादीकै अस्तित्व संकटमा (भिडियोसहित)

किन जनताको विश्वास गुमायो माओवादीले ?


काठमाडौँ — नेपाली इतिहासलाई हल्लाउने माओवादी जनयुद्धको थालनी भएको २७ वर्ष पुरा भएको छ । तत्तकालिन राज्य सत्तालाई परास्त गर्न होमिएको माओवादी अन्नतः जनसत्ताबाट जनताको परिवर्तन गर्न केही सफल पनि भयो । माओवादीले युद्धको शंखघोषसंगै उठाएका अक्सर मुद्धाहरु संस्थागत भए पनि स्वयम पार्टी जनताको विश्वासबाट च्युत हुँदे गएको छ ।

माओवादीले जनयुद्ध सुरु गरेको २७ वर्ष पुगेको छ भने विस्तृत शान्ति सम्झौतासंगै देशले शान्ति पाएको १७ वर्ष पुगेको छ । १७ वर्ष देखि माओवादी केन्द्र सत्ताकै वरीपरि छ । जनजिविका मुद्धा, समाजमा देखिएका असमानताको खाडल, निरंकुश शासन प्रणाली अन्त्यको मुद्दा उठाएर माओवादी केन्द्र २०५२ साल फागुन १ गते जनयुद्धमा होमिएको थियो । १० वर्ष ९ महिना १ दिन सशस्त्र युद्ध मोर्चामा रहयो । समाजमा व्याप्त रहेको बेथितिविरुद्ध तत्कालिन अवस्थामा संसदीय प्रणालीबाट देशमा समस्या समाधान गर्न नसक्ने ठहर गर्दै माओवादी जनयुद्धमा होमियो ।

माओवादीको जनयुद्धकै रापतापबाट प्राप्त वर्तमान राज्य व्यवस्था र शासन प्रणालीले जनताको जीवनपद्धती र विकास रुपान्तरणमा आशातित पविर्तन सम्भव भयो ? भन्ने प्रश्नको जवाफ चाहीँ अझै पनि प्रष्ट भइसेको छैन ।
आज विस्तृत शान्ति सम्झौता सम्पन्न भएको डेढ दशक वितिसक्दा पनि नेपाली नागरिक रोजगारीका लागि खाडी भासिने क्रम रोकिएको छैन । स्वयम् माओवादी पूर्व लडाकूहरु देशमा रोजगारी र भविष्य नदेखेर खाडी मुलुकमा भासिइएका छन् । माओवादी युद्धमा होमिएर उजाडिएको कैयौंको जीवन सिञ्चीत हुन पाएको छैन । र पनि गणतन्त्र धर्मनिरपेक्षता, संघियता संविधान सभाबाट संविधान प्राप्त गर्ने मुद्धा पूरा भएकोमा माआवादीले उपलब्धीपूर्ण संघर्ष मानेको छ ।

जनयुद्धकालले १७ हजार मानिसको ज्यान गयो, हजारौंको सिउँदो पुछिए, हजारौं बालबालिका टुहुरा मात्रै बनेनन् लाखौं युवाहरुको भविष्य अन्धकारमा रुमल्लीयो । तर चप्पल पड्काउदै काठमाडोँ प्रवेश गरेका माओवादीका उपल्लो तहका नेताहरु डेढ दशकमा काठमाडौंमा महल ठड्याउन सक्षम भए, आफ्ना छोराछोरीको भविष्य सुनिश्चीत गर्न सफल रहे । जनजिविकाका विषय भन्दा उनीहरु सत्ता, शक्ति र स्वार्थमा लागि लडिरहेका छन् । र पनि उनीहरु अझै अहिलेकै व्यवस्थाबाट जनताका माग पुरा गर्छौ भन्दै झ्याली पिट्न भने थाकेका छैनन् ।

गणतन्त्र, संघीयता र समावेशि जस्ता जनयुद्धकालिन मुद्धाले पाएको उपलब्धिले जनताको जीवनमा तात्वीक भिन्नता चाहीँ पाउन सकेको छैन ।

माओवादीले २७ वर्ष पहिले विजारोपण गरेको मुद्धाहरु १० वर्ष ९ महिना १ दिनमा कानुनी रुपमा सस्थागत हुन त सफल भयो तर सोही अनुरुप राज्य संयन्त्र बनेको १७ वर्ष वित्दा जनतालाई यही व्यवस्था निल्नु न ओकल्नु बनेको छ । जनताले अर्काे व्यवस्थाको खोजी गर्नु पूर्व नै राज्य व्यवस्थाप्रति जनतालाई विश्वस्त बनाउन जरुरी छ ।