राजनीति

माओवादी घटकहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकहरूलाई एकतावद्ध हुन आग्रह गरेका हुन् ।

२७औँ जनयुद्ध दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्नुभएको छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्छ ।