राजनीति

मधेशमा पहिलो पटक जनयुद्ध दिवस मनाइदैँ


काठमाडौँ – मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको प्रदेश सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेको हो ।

मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । माओवादी केन्द्रले आन्तरिक मामिला तथा संचारमन्त्री र राज्य मन्त्री पाएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको छ ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ । कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गर्ने तय गरिएको छ ।

जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।