राजनीति

कमल थापाले राप्रपा त्याग्नुको चुरो कुरो, अबको यात्रा कता ?


काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीमा झैँ राप्रपामा पनि फुट्नु र जुट्नु सामान्य बन्न थालेको छ । आफ्नो इतिहास कालमा राप्रपाको फुट र जुटको शृंखला लामो छ । एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्दा निर्वाचन हारेपछि जुट्ने र महाधिवशेन पछि फुट्ने राप्रपाको नियतिनै बन्न थालेको छ ।

तीन दशकभन्दा लामो राप्रपाको राजनीतिक यात्रामा कमल थापा सधै राजतन्त्रको नजिकमात्रै रहेनन्, देशबाट राजतन्त्रको अन्त्य भई सक्दा पनि उसकै पक्षमा वकालत गरि नै रहे । सिंगो देश राजतन्त्रको विरुद्ध उभिँदा थापा भने राजसंस्थाको बचाउमा लागि नै रहे । राजतन्त्र र हिन्दुधर्मको वकालत गर्ने तिनै थापाले राप्रपालाई कहिले नफुटाउने भन्दै कसम पनि खाए । यद्यपि थापाले खाएको कसम तोडेर पार्टीबाट अल्गिए ।

अहिले थापाले गीताको कसम तोडेर आफ्नो नैतिकता माथि प्रश्न गर्ने ठाउँ मात्रै दिएका छैनन् की आफ्नो चरित्रलाई उदाङ्गो बनाई दिएका छन् । तर तिनै थापा फेरि हिन्दुधर्मको एजेण्डा बोकेर नयाँ पार्टी खोल्ने कसरतमा लागेका छन् । नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ पुगेका उनले पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने दाबी गरे । यद्यपि गिताको समेत कसम तोडेका थापाले अब पुनःहिन्दुधर्म स्थापीत गराउँन सफल होलान् भन्नेमा चाहि विश्वासका आधारहरु गुमाउँदै गइरहेका छन् ।

हुनत ः राजसंस्थाको खासै जनमत नभएपनि हिन्दु धर्मको जनमत राप्रपामा थोर बहुत देखिन्छ । अब थापाको आगामी राजनीतिक यात्राले राप्रपाको मात्रै नभई हिन्दु धर्म र राजसंस्थाको एजेण्डा बोक्नेहरु कसरी अगाडि बढ्छन् भन्ने तय हुने देखिन्छ । तर राप्रपाका पूर्व अध्यक्षहरु भने अझै पनि कमल थापा राप्रपामा फर्किने र राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डामा सहकार्य गर्नेमा आशावादी छन् ।

यता राजेन्द्र लिङदेन भने कमल थापाको पार्टी परित्यागले पार्टीलाई कुनै असर नगर्ने र उनको व्यत्तिगत निर्णय मात्रै भएकोले पार्टीको गतिमा कुनै कमी नआउँने टिप्पणी गर्छन् । तर थापाका लागि राप्रपाको ढोका भने सधै खुला रहने उनको धारणा छ ।

पार्टीको नै कम जनमत भएता पनि दिन प्रतिदिन प्रमुखदलहरु कमजोर बन्दै गएको अवस्थामा यसको फाइदा भने राप्रपाले उठाउन खोजिरहेको छ । जनतामा छाएको निराशा,गिर्दै गरेको अर्थतन्त्र, एमसीसीका कारण टुटफुटको राजनीति, बढ्दो अलोक प्रीयता र विदेशीको हस्तक्षेप, कमजोर बन्दै गएको राष्ट्रियता, प्रमुख राजनीतिक दलहरु भित्रै नै संविधानप्रति देखिएको असन्तुष्टि जस्ता कारणको फाईदा उठाउँदै राप्रपाले राजतन्त्र र हिन्दुधर्म स्थापीत गराउँने दाबी गर्न थालेको छ ।

युवाको नेतृत्वमा राप्रपा गएको भन्दै हौसिएका राजावादी र हिन्दु धर्म प्रेमीहरुको उत्साहलाई थापाको बहिर्गमनले धक्का दिएको छ । अव लिङ्देनको काधमा राजसंस्था र हिन्दुधर्म प्रतिआस्था राख्नेहरुको विश्वास जोगाउनुपर्ने अभिभारा आएको छ । तर ढुलमुले चरित्रले कमल थापाको आगामी राजनीतिक यात्रा भने त्यहि सहजन हुने देखिन्छ ।