राजनीति

प्रचण्डले एमसिसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिए : ईश्वर पोखरेल


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले शनिबार काठमाडौँ महानगरपालिका ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै जनतालाई अलमल्याउने गरी एमसिसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा प्रचण्ड लागेको आरोप लगाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दुभाग्यपूर्ण विवादहरू देखिरहेका छौं हामीहरू। म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हेर्‍यो यतैका कुरा, उता हेर्‍यो उताका कुरा, ऊ पर हेर्‍यो, परका कुरा गर्ने खालका भएभने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ। यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’

एमसिसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइ गरिरहेको आरोपसमेत लगाए । राजनीतिक पार्टीका नेताहरूले देश र जनताको हितविपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए। जनताको बीचमा फट्याइ कुरा गर्ने नेताहरूलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।

‘राजनीतिक पार्टीका मान्छेहरूले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ। नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौं, भोग्दैछौं’ उनले भने, ‘विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा। यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन। जो दुर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन ।’

सार्वजनिक सम्पत्तिहरू अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचा लगायतका सार्वजनिक क्षेत्रहरुको सफाइमा ध्यान दिने र त्यसको सदूपयोग गरेर अघि बढने काममा लाग्न स्थानीयवासीलाई आग्रह गरे । उनले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिएपनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरे ।