राजनीति

कमल थापाको नयाँ पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’


काठमाडौँ – दुई दिनअघि मात्र राप्रपा परित्यागको घोषणा गरेका निवर्तमान अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने निधो गरेका छन् । थापाले नयाँ पार्टी गठन गर्ने निर्णय बिहीबार बसेको उनी निकट नेताहरुको बैठकले गरेको हो ।

बिहीबार महाराजगञ्जमा थापा निकट राप्रपा पदाधिकारी नेताहरुको बैठक बसेको थियो । ‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको छ,’ नेता राजाराम बर्तौला भने ।

छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागी भएको बर्तौलाले जानकारी दिए।

‘बैठकमा विभिन्न नाम प्रस्ताव भएका छन्, त्यसमध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको छ,’ उनले भने, ‘पार्टी कहिले दर्ता गर्ने भन्ने विषयको टुंगो लागेको छैन।’

३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।