देश

बालकुमारीको मूर्ति भेटिएपछि सिन्दुर जात्रा


काठमाडौँ – ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । बालकुमारी माईको उक्त मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् ।

प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए ।

क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको हो ।

प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो ।