राजनीति

तत्काल रेलवे सञ्चालनका लागि २१ करोड दिने निश्चित


काठमाडौँ – लामो समयसम्म प्रतिक्षारत जनकपुर –जयनगर रेल सेवा सञ्चलनका लागि सरकारले २१ करोड रुपियाँ दिने भएको छ। केही सातापछि नै सञ्चालनको तयारीमा रहेको रेल सेवाका लािग अर्थ मन्त्रालयले सो रकम छुट्याएको हो ।

नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाका अनुसार गत वर्ष नै मन्त्रिपरिषद्ले कम्पनीलाई ४५ करोड दिने निर्णय गरेपनि ढिलासुस्ती हुँदै आएको थियो । उक्त निर्णय भएदेखि नै सो रकमको माग गर्दै आएको कम्पनीले अहिले आएर २१ करोड पाउने निश्चित भएको हो ।
महानिर्देशक झाले भने , “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो र कम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।”

नेपाल रेलवे कम्पनीले रेलवे सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कण रेलवे कर्पोरेसन लिमिटेडलाई करिब ३५ करोड रुपियाँ तिर्नुपर्ने छ । एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको कण रेलवेलाई त्यही २१ करोडमध्येबाट केही रकम भुत्तानी गरेर तत्काल काम अगाडि बढाउने योजनामा नेपाल रेलवे कम्पनी रहेको महानिर्देशक झाले जानकारी दिए ।