राजनीति

प्रचण्ड र माधवले प्रधानमन्त्रीलाई भने : चुनाव अगाडि एमसीसी जस्ताको तस्तै पास गर्न सकिँदैन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने जानकारी गराएको स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबावमा छन् ।

नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।