राजनीति

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक सुरु


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, संगठन सुदृढिकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यससँगै पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने छ । त्यस्तै, निवर्तमान अध्यक्ष कमल थापाले गरेको पार्टी परित्यागको विषयमा पनि छलफल हुने छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए ।