राजनीति

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा,केन्द्रीय समितिले पूर्णत पाउने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्र्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।

गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।