राजनीति

कमल थापाले छाडे पनि पार्टीलाई केही असर गर्दैन : लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेपनि केही असर नपर्ने बताएका छन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनले बताए ।

अध्यक्ष लिङ्देनले बुधबार भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरूलाई आह्वान समेत गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गरेका छन् । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको दावी गर्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।

‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुखित छौँ । यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ र अहिले पनि यो सञ्चार माध्यममार्फत पनि उहाँलाई आग्रह गर्न चाहान्छु, उहाँ स्वयंको राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राम्रो हुन्छ । फलदायी हुन्छ र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ’, उनले भने ।

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे । थापाले मंगलबार पार्टी परित्यागको घोषणा गरेका थिए ।