राजनीति

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौँ – संसद्मा नरहेका राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी)विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

एमसीसी सम्झौता खारेज गर्नुपर्ने प्रदर्शनकारीको भनाइ छ । एमसीसी अमेरिकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहितविपरीत रहेको उनीहरूको जिकिर छ ।

प्रदर्शनमा सहभागीहरूले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’लगायत नारा लगाएका थिए ।

नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासहितमा आबद्धहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।