राजनीति

कांग्रेसको निर्वाचन प्रचार–प्रसारको जिम्मा सांस्कृतिक संघलाई


काठमाडौँ – आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रीय र सशक्त रुपमा परिचालन गरिने बताउनुभयो । उहाँले कांग्रेसले हालसम्म गरेका कामहरु तथा भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पु¥याउने पनि बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिनुभयो ।

नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताउनु भयो ।