विदेश

रुसी फौजले युक्रेनमा संकट नबढाउनेमा फ्रान्सका राष्ट्रपति आश्वस्त


काठमाडौँ – फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा संकट नबढाउनेमा आफूलाई आश्वस्त पारेको बताएका छन् । रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ठिक नभएको जनाएको छ ।

फ्रान्सका राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा मस्कोमा पुटिनसँग झण्डै ६ घण्टा बिताएका थिए । युक्रेनी नेतालाई भेट्नुअघि पत्रकारहरूसँग बोलेका माँक्रोले अवस्था थप नबिग्रने वा नगहिरिने सुनिश्चितता सुरक्षित गरेको बताएका छन । त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, युरोपेली संघका विदेशनीति प्रमुख जोसेफ बोरेलले माँक्रोको रुस भ्रमणले मुडभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताएका छन् । फ्रान्सका एकजना अधिकारीले दुई नेताहरू बेलारुसबाट रुसी सेना फिर्ता गर्ने विषयमा सहमत भएको जनाएका थिए । बेलारुसमा युक्रेनतर्फको उत्तरी सीमामा रुसी सेनाहरू अभ्यास गरिरहेका छन् ।