राजनीति

फागुन पहिलो साताभित्र नयाँ पार्टी घोषणा गर्ने कमल थापाको तयारी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा थापा निकट स्रोतले जनाएको छ । थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् ।

बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ । नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् । नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन । थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ ।

थापाले आफ्नो पार्टीमा आउन पूर्वअध्यक्ष पशुपति शमशेर राणालाई समेत आग्रह गरेका छन् । सो क्रममा थापाले अध्यक्षको प्रस्ताव समेत गरेको बनाइएपनि उनले सो प्रस्ताव अस्वीकार गर्दै राप्रपामै रहने जवाफ फर्किएको राप्रपाका एक नेताले बताए ।