राजनीति

राजीनामाको निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई राजीनामाको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार काठमाडौँमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको हालै सम्पन्न महाधिवेशनपछि पार्टी बलियोसाथ अघि बढिरहेका बेला थापाको यो निर्णयलाई अप्रत्यासित भनेका छन् ।

राप्रपा पदाधिकारी बैठकले पार्टीले राजसंस्था र हिन्दु राज्यको अडान नछाडेको पनि स्पष्ट पारेको छ । ‘राप्रपा पार्टी स्थापनाको उद्धेश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छु, श्रेष्ठले अगाडि भनेका छन्, ‘यस घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई द्विविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ ।’

राप्रपा पदाधिकारी बैठकले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहलाई अपिल पनि गरेको छ ।