राजनीति

मतदाता नामावली संकलन स्थगित,कति पुगे त मतदाता ?


काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।
वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि मंगलबारबाट स्थगित गरेको हो ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो ।

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।