राजनीति

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

थापाले मंगलबार नै एक विज्ञप्ति जारी भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

थापाले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच औपचारिक रूपमा एकता घोषणा कार्यक्रम थापाले पटक पटक मिल्दै र पार्टी फुट्दै गरेको इतिहास सम्झदै थापाले गीताको पुस्तक हातमा लिएर पार्टी नफुटाउने कसम समेत खाएका थिए । थापाले भनेका थिए “तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरू, यो गीतालाई हातमा राखेर भन्छु–राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन ।”