राजनीति

राप्रपा फुटको संघारमा, नयाँ दल खोल्दै कमल थापा



काठमाडौँ – पटक पटक जुट र फुटको श्रृखंलाबाट गुज्रिदै आएको राप्रपा फेरि विभाजनको सँघारमा पुगेको छ । गएको मंसिरमा सम्पन्न महाधिवेशनमा पराजित भएपछि रुष्ट देखिएका कमल थापा अहिले पार्टी विभाजनको अन्तिम तयारीमा जुटेका छन् ।

गएको मंसिर महिनामा सम्पन्न राप्रपाको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका पूर्व अध्यक्ष थापाले सोमबार आफू निकट नेताहरुको भेला गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो एक सूत्रीय मागलाई सम्बोधन नगरेको दुखेसो पोखेका छन् ।

महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप बारे पार्टी अध्यक्षले आफ्नो माग सुनवाइ नगरे पार्टी फुटाउनेसम्मको विकल्पमा जान बाध्य हुने चेतावनीस्पष्ट रुपमा दिएका छन् । शनिबार मात्रै अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष थापाबीच थापा कै निवास बुढानिलकण्ठमा भेटवार्ता भएको थियो । तर थापाले भेटपछि अध्यक्ष लिङ्देन आफ्ना मागप्रति गम्भिर नभएको आरोप लगाएका छन् । उता लिङ्देनले पार्टीमा मिलेर जानुको विकल्प नभएको जिकिर गर्दै आएका छन् ।

बूढानीलकण्ठ वार्तामा लिङ्देनमाथि आफ्नो मागबारे थप दबाब बढाउने नीति अनुसार थापाले सोमबार आफुपक्षीय पार्टी पदाधिकारी र केन्द्रिय सदस्यहरुको भेला आयोजना गरेका हुन् । भेलामा उनले आफ्ना मागहरु पुरा नभए विकल्पमा जान बाध्य हुने भन्दै विगतमा झै आफुलाई साथ दिन आग्रह समेत गरेका थिए । अध्यक्षमा आफूलाइृ निर्वाचित गराएको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको मान्न र छानबिन गर्न लिङ्देन तयार छैनन् ।

त्यही कारण छानबिनको मागबाट थापा पछाडि नहट्ने हो भने राप्रापा फेरि एक पटक विभाजित बन्ने पक्का छ । तर, विगतमा उनलाइृ साथ दिँदै आएका नेता तथा कार्यकर्ता समेत अहिले उनको साथमा देखिएका छैनन् । जसले गर्दा पार्टी विभाजनले राप्रपालाई भन्दा पनि थापालाई बढी क्षति पु¥याउने अनुमान गर्न सकिन्छ