राजनीति

एमसीसीकै कारण सत्ता गठबन्धनमा किचलो, के अर्को सरकार बन्ने सम्भावना छ ? (भिडियोसहित)


काठमाडौँ – एमसीसीकै कारण सत्ता गठबन्धनमा किचलो मच्चिएपछि सरकार के हुन्छ भन्ने प्रश्न उठेको छ । संविधानविद्हरु अर्काे सरकारको परिकल्पना संविधानले नगरेको बताउँछन् ।

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको अतृप्त चाहना र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको मुकुण्डो खोलिएसँगै अब सत्ता गठबन्धन के हुन्छ भन्ने प्रश्न अहम् छ । किनकि सम्झौता पारित गर्ने प्रतिवद्धतासहित देउवा–प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र नै सार्वजनिक भएसँगै गठबन्धनमा गडबड सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले पत्र सार्वजनिक गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । देउवाको कदमप्रति नेकपा एकीकृत समाजवादीले पनि असन्तुष्टी साँधेको छ । फलतः झुट र अविश्वासको जालोमा झेलिएको गठबन्धनको आयुमाथि नै प्रश्न उठेको हो । एमसीसीमा अनेक जालझेल गर्दै देउवा अघि बढ्न खोजे गठबन्धन एक नरहने र सरकारबाट बाहिरीने माओवादी र समाजवादीका नेताहरु बताउँछन् । तर पनि प्रचण्ड सकभर गठबन्धन टिकाएरै जान हारगुहार गरिरहेका छन् ।

जुन कुरा पत्र सार्वजनिक भए लगत्तै आइतबार बालुवाटारमा बसेको शिर्ष तीन नेताको बैठकमा प्रचण्डले प्रस्तावकै रुपमा अघि सारेका छन् । उनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग निर्वाचनपछि मात्रै एमसीसी अघि बढाउन अनुरोध गरेका छन् ।

तर आफैले हस्ताक्षर गरेर पाँच महिनाको समय माग गरेपछि एमसीसीले फेब्रुअरी २८ अर्थात फागुन १६ सम्मको समयसीमा तोकिदिएको छ । यो अवधिसम्म सरकार र सत्ताघटकले निर्णय दिइसक्नुपर्नेछ । यसका लागि प्रचण्डसहितको मोर्चा असहमत भए एमाले अध्यक्ष ओलीसँगै मिलेर भएपनि एमसीसी पारित गर्ने देउवाको नीति छ । किनकि प्रचण्डसँग खटपट चलेकै बेला देउवाले ओलीसँग संवाद बढाउनुमै यसको खास अर्थ हो ।

एमसीसीकै कारण गठबन्धन नरहे सरकारसमेत नरहनेसम्मको सम्भावना हुनेछ । फलतः प्रचण्ड–माधव गठबन्धनमा नरहे सरकार के होला भन्ने प्रश्न छ । धेरैले एमसीसीमा ओली–देउवा एक हुने र सत्ता सहकार्य गर्ने आँकलन गरेका छन् । तर प्रधानमन्त्री देउवा नै संविधानले परिकल्पना गरेको अन्तिम विकल्पको सरकार भएकाले फेरबदलको सम्भावना नभएको संविधानविद्हरु बताउँछन् ।

संविधानको धारा ७६ अन्तर्गत चौथो विकल्पको प्रधानमन्त्री हुन् देउवा । विश्वासको मत नपाएको खण्डमा संसद् विघटन गर्दै चुनावमा जाने सुविधा उनलाई थियो । तर विश्वासको मत प्राप्त गरिसकेकाले अर्लि इलेक्सन लगायतका विकल्प समाप्त भएको संविधानविद्हरु बताउँछन् । त्यसलेै अर्काे निर्वाचन नभएसम्मकै लागि उनी प्रधानमन्त्री हुन् ।

अदालतको साथ र आफ्नो विकल्प नरहेको अहमकै कारण पनि देउवा एमसीसी पेलेरै अघि बढाउन चाहन्छन् । यसले प्रचण्डलाई थप दबाबमा राखिरहेको छ ।