राजनीति

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा हुनुहुन्न : उपाध्यक्ष प्रधान


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गर्नु भएको छ । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा सहभागी हुनु भएको उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँ पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको हो ।

उहाँले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढि हुने उपाध्यक्ष प्रधानको भनाई थियो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

उपाध्यक्ष प्रधानले भन्नु भयो, ‘उहाले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

त्यस्तै, पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताउनु भयो । उहाँले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताउनु भयो । महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।