विदेश

क्रिप्टोकरेन्सीको चोरी गर्दै मिसाइल परीक्षण


काठमाडौँ – उत्तर कोरियाले सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको पाइएको छ । डिजिटलमाध्यमबाट चोरी गरिएको सो पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय समाचारहरुले दावी गरेको छ ।

उत्तर कोरियाले ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् उल्लेख गरिएको छ । सोही रिपोर्टलाई आधार मानेर अन्तिर्राष्ट्रिय मिडियाले यो समाचार बाहिर ल्याएको हो ।

संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो । साइबर हमलामा उत्तरी अमेरिका, युरोप र एशियामा कम्तीमा तीन क्रिप्टोकरेन्सी एक्सचेन्जलाई निशानामा पारियो ।

रिपोर्टमा अघिल्लो महिना सिक्योरिटी फर्म चेनालिसिसद्वारा प्रकाशित एक अध्ययनबारे पनि उल्लेख गरिएको छ जसमा उत्तर कोरियाली साइबर हमलामा अघिल्लो वर्ष ४०० मिलियन डलर बराबरको डिजिटल सम्पत्ति चोरिएको छ ।

संयुक्त राष्ट्रले दिएको जानकारी अनुसार सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत् सामूहिक विनाश कार्यक्रमका लागि हतियार जुटाउनका लागि दुई अर्ब डलर जुटाएको थियो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि परमाणु परीक्षण गरेको र ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । यद्यपि, संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार गम्भीर प्रतिबन्धका बावजुद उत्तर कोरिया आफ्नो परमाणु र ब्यालेस्टिक मिसाइलको आधारभूत ढाँचाको विकास जारी राख्न सक्षम रहेको छ ।

यी प्रतिबन्धमाथि निगरानी राख्ने प्योङ्याङ मिसाइल परीक्षणमा उल्लेखनीय वृद्धि गरेको छ ।