राजनीति

उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो, नयाँ नियम अनुसार केके खोल्न पाईन्छ ?


काठमाडौँ – काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–बिजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सीसीएमसीले दिएको आदेशका आधारमा जोर–बिजोर हटाउने निर्णय गरेको हो ।

जोर–बिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी स्यानिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो । सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ । तर, १२ वर्ष मुनिका बालबालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ ।

फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।