राजनीति

एमसिसीबारे एमालेको धारणा : सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म नहतारिने


काठमाडौँ — नेकपा एमालेले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म आफू नहतारिने जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा एमालेले एमसिसीबारे यस्तो धारणा राखेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए । यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसिसी पारित हुनुपर्ने धारण राख्दै आएको भएपनि सत्ताबाट बाहिरिएपछि भने सत्तापक्षलाई नै दोष थोपर्दै आएको छ ।

बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई संसद् खुलाउने बटमलाइन बनाएको थियो । सभामुखको भूमिकाका कारण प्रतिनिधिसभा चल्न नसकेको एमालेको भनाइ थियो । आफूहरुका माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ ।

बैठकमा प्रचण्डले स्थानीय चुनावपछि मात्र एमसिसी अघि बढाउन प्रस्ताव गरेका छन् । प्रचण्डले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव बैठकमा गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीलगायत विषयलाई अघि बढाउनुपर्ने बताएका थिए ।