राजनीति

प्रदेश १ मा फेरि मन्त्रालय फुटाइयो


काठमाडौँ – प्रदेश १ मा फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा मिलाउन १२ बाट एक मन्त्रालय थपेर १३ पुर्‍याइएको हो ।

प्रदेश सरकारले गत आइतबार मात्र ७ बाट १२ मन्त्रालयहरु बनाएको थियो । त्यसमा पनि भागबण्डा नमिलेपछि एक थपेर १३ पुर्‍याइएको छ ।

आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई मुख्यमन्त्री राजेन्द्र राईले चार वटा मन्त्रालय दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसले पाँच वटा पाउनुपर्ने दाबी नछाडेपछि मन्त्रालयको संख्या बढाएको हो । यद्यपि सरकारले मन्त्रालय विभाजन गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

प्रदेश १ मा हाल कांग्रेसबाट दुई, माओवादी केन्द्र र जसपाबाट एक(एक जना मन्त्री छन् । एक जना राज्यमन्त्री छन् । मन्त्रिपरिषद् विस्तारपछि कांग्रेसका पाँच, नेकपा एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका तीन र जसपाका एक जना मन्त्री रहने छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।