राजनीति

कर्णालीमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी


काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।

कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विवादमै तीन महिना बितेको छ । कर्णाली प्रदेशसभाका सत्ता गठबन्धन दलहरुबीच अझै सहमति जुटिसकेको छैन । प्रदेश सरकारमा माओवादी केन्द्रले ४, कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरिरहेका छन् ।

सत्ता गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीलाई ३, कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय दिने तयारी रहेको छ । केन्द्रको सहमतिअनुसार मुख्यमन्त्री शाहीले बाँकी ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गर्नुभएको बताइएको छ ।

यसअघि माओवादी केन्द्रका विन्दमान विष्ट र एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई समेटेर मुख्यमन्त्री शाहीले तीन सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको थियो ।