राजनीति

आफ्नो क्षेत्राधिकार भित्र पर्ने अस्थायी टहराहरु हटाउँदै पशुपति क्षेत्र विकास कोष


काठमाडाैँ – पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिनु भएको हो ।

शनिबार अधिकारीले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पार्नु भयो । प्रवक्ता अधिकारीले भन्नु भयो, ‘यसलाई हटाउने भन्ने विषयहरु मिडियामा आईराखेको छ । यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दापनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्ने मलाई पहिलो कुरा लाग्दछ । केही अरुनि पसलहरु राखिएको थियो । व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरुलाई हटाउन लागिएको हो ।’

कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताउनु भयो ।