समाचार

तीन साझेदारको हत्या जोडिएका थप २ जना पक्राउ


काठमाडौँ — मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका अनुसार मोरङ रङ्गेली-३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम पक्राउ परेका हुन् ।

कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको थियो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।