समाचार

हिमपातले मुस्ताङमा जनजीवन कष्टकर : विद्युत्, सडक र हवाई सेवा अवरुद्ध


काठमाडौँ — हिमपात र वर्षाका कारण हिमालपारिको जिल्ला मुस्ताङमा सडक, विद्युत् र हवाई सेवा अवरुद्ध भएको छ ।
बिहीवार साँझदेखि परेको हिमपात र वर्षा शनिबार बिहानसम्म पनि नरोकिएकाले मुस्ताङ र म्याग्दीको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाँचवटै स्थानीय तहको डाँडापाखा हिउँले ढाकेको छ । तापक्रम घटेकाले अत्यधिक चिसो बढेको छ । हिउँ बाक्लो जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेमाथिको खण्ड अवरुद्ध बनेको प्रजिअ शर्माले जानकारी दिए ।

त्यसैगरी हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा बिहीवार रातिदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ। थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक अन्य सबै ठाउँमा विद्युत् अवरुद्ध भएको स्थानीय हेम शेरचनले जानकारी दिए । वर्षा र हिमपातका कारण जोमसोम विमानस्थलमा उडान अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ। मुस्ताङमा यस वर्ष चौथो पटक हिमपात भएको हो ।

म्याग्दीमा पनि तीन दिनदेखि वर्षासहित हिमपात भैरहेको छ । हिमपातका कारण जिल्लाको पश्चिम क्षेत्रमा पर्ने गुर्जा जाने पैदलमार्ग अवरुद्ध भएको धवलागिरि गाउँपालिका-१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

पर्यटकीयस्थल घोरेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेकलगायत क्षेत्रमा साढे दुई फिटसम्म हिउँ जमेको छ । वर्षा र हिमपातले अत्यधिक चिसो बढेपछि नागरिकहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् ।