समाचार

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते


काठमाडौँ — प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी- ६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिप सडकबाट झण्डै तीनसय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेले जानकारी दिए । दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ‘मृतकको सनाखत हुन बाँकी छ ।’ उनले ज्यान गुमाउनेमध्ये पाँचजना महिला र तीनजना पुरुष भएको बताए ।

जिपमा बेहुला बेहुली भएनभएको यकिन हुन बाँकी छ । ‘बेहुला-बेहुली लिएर आउँदै गरेको जिप भनिएको छ,’ त्यसमा बेहुला-बेहुली थिएरथिएनन् खुलेको छैन । हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ ।’ घटनास्थल जिल्ला सदरमुकामबाट झण्डै २५ किमी टाढा पर्छ। अप्ठ्यारो कच्ची सडकमा दुर्घटना भएको हो ।

गैरेका अनुसार घाइते पाँच जनालाई जिल्ला अस्पताल बिजुवार लगिँदै छ। घाइते पाँच जना अझै अस्पताल पुगिसकेका छैनन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।