राजनीति

३ महिनापछि पूर्णता पाउँदै कर्णाली मन्त्रिपरिषद्


काठमाडौँ — कर्णाली प्रदेश सरकारले तीन महिनापछि पूर्णता पाउन लागेको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा हुन नसकेको मन्त्रिपरिषद्ले आइतबारसम्म पूर्णता पाउने भएको हो ।

कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले सरकारमा सहभागी गराउने मन्त्रीहरूको नाम छानिसकेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा माओवादीबाट तीन, नेकपा ९एकीकृत समाजवादी० बाट दुई र कांग्रेसबाट दुई जना मन्त्री बन्दै छन् ।

नेकपा माओवादीले पछिल्लो समय सरकारमा पठाउन जाजरकोटका सांसद गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद कार्चेन लामाको नाम अगाडि सारेको छ ।

यसअघि माओवादीबाट सुर्खेतका विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री छन् । एकीकृत समाजवादीले जुम्लाका सांसद पदमबहादुर रोकायाको नाम अघि सारेको छ। एकीकृत समाजवादीबाट यसअघि दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको कांग्रेसले दैलेखका सांसद तथा प्रदेश सभा दल सचेतक हिमबहादुर शाही र सुर्खेतका सांसद यज्ञबहादुर बुढाक्षेत्रीको नाम अगाडि सारेको छ । कांग्रेसबाट शाही पहिलोपटक मन्त्री बन्न लागेका हुन् भने बुढाक्षेत्री यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए ।

नाम अगाडि सारिएकामध्ये कसलाई कुन मन्त्रालयमा लिने भन्ने निश्चित भने भएको छैन । ‘अहिले अघि सारेका नाम नै लगभग पक्का हुन्,’ मुख्यमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने, ‘तर अहिले कुन मन्त्रालय दिने भन्ने पक्का छैन, आइतबारसम्म सपथ भइसक्छ ।’