देश

सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै महासंघको विरोध प्रदर्शन


काठमाडौँ – सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताउनु भयो ।

उहाँले सामुदायिक वनको अधिकार कटौति गर्नेगरी तयार गरिएको वन नियमावली २०७८, प्रदेश वन ऐन, संरक्षित वन क्षेत्र बिस्तार, तेहेरो कर र वन पैदावारमा लगाइएको प्रतिवन्धको बिरुद्धमा आन्दोलन भएको र यो आन्दोलन सबै तहका सरकारले प्रस्ताव फिर्ता लिइ संशोधन नगरेसम्म जारी रहने चेतावनी दिनु भयो ।

अध्यक्ष पाठकले प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ऐनहरु ल्याएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताउनु भयो ।