काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ ।
हिमालय एअरको विमानमा दुबईबाट आएका दुई र सारजहाँबाट आएका एक गरी तीनजनालाई प्रहरीले लुकाईछिपाई ल्याएको एक किलो १२५ ग्राम अवैध सुन र आईफोन १३ प्रो म्याक्स ५ थानसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले रौतहटको गौर नपा १० सोबगाढा बस्ने ३२ वर्षीय सुनिलकुमार साह मकवानपुरको मनहरी ७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ घर भएका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई पक्राउ गरेको हो। शाह र परियार दुबईबाट तथा शेर्पा साउदी अरबको सारजहाँबाट नेपाल आएका थिए ।
प्रहरीले साहको साथबाट सुनको बेरुवा औंठी र सिक्री एकएक थान तथा आईफोन १३ प्रो म्याक्स ४ थान बरामद गरेको थियो। सुन अन्दाजी ५० ग्रामको मूल्य ३ लाख ९५ हजार र ४ वटा आईफोनको ६ लाख ४० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ ।
त्यस्तै परियारको साथबाट ५० ग्राम तौलको सुनको बेरुवा औंठी एक थान र आईफोन १३ प्रो म्याक्स एक थान बरामद गरिएको छ। जसमध्ये सुनको ३ लाख ९५ हजार र आईफोनको एकलाख ६० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकका शेर्पा एक्लैले एककिलो ५५ ग्राम सुन बेलनाकार बनाएर अर्धठोस सुनको तीन थान गुद्द्वारमा लुकाईछिपाई ल्याएका थिए। उक्त सुनको मूल्य ८३ लाख ३९ हजार पर्ने प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीका अनुसार उनीहरु माघ १९ गते काठमाडौँ आएका थिए। उनीहरुको गतिविधि शंकास्पद देखिएकोपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएपछि चेकजाँच गर्दा अवैध सुन र आईफोन लुकाईछिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।


प्रतिक्रिया