राजनीति

गठबन्धन जोगाउन दौडधूप


काठमाडौँ – स्थानीय तहको चुनाव नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा केही मतभेद देखिदै गएको छ । मतभेद स्थानीय चुनावले गर्दा नभई वर्षौदेखि विवादित बन्दै आएको एमसीसीलाई लिएर भएको हो ।

सरकारको नेतृत्व गरिरहेको काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा जसो तसो एमसीसीलाई संसद्बाट पास गराउने पक्षमा रहेको छन् । भने यता माओवादीका केही नेता र एकीकृत समाजवादीका नेताहरु भने एमसीसीलाई संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा रहेपछि सत्तासीन नेताहरुबीच खटपट भएको छ । जसका कारण स्थानीय तहको निर्वाचनसम्म पनि गठबन्धन जोगाउन मुश्किल देखिएको छ ।

बुधबार काँग्रेसका नेताहरु माओवादी र एकीकृत समाजवादीका नेताहरु मनाउन दौडधुपमा व्यस्त देखिए । तीनै तहको निर्वाचनसम्म नै गठबन्धनमा जाने भनिएका पार्टीहरु स्थानीय तहसम्म पनि जोगिन गाह्रो भए पछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि दौडधुपमा रहे ।

काँग्रेसका नेताहरुले बुधबार दाहाल र नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ । खटपट बढ्दै गए स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् ।