राजनीति

गठबन्धन गम्भीर मोडमा : माओवादी सरकार छोड्न तयार, एमाले सरकारमा जाला ? (भिडियोसहित)


काठमाडौँ — एमसीसीको मुद्दा पुनः जोडतोडले उठेपछि सत्तागठबन्धन नै संकटमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमै आवद्ध दलहरुको समर्थन नपाएपछि अनेक विकल्प र प्रश्नमाथि छलफल चलिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई विकल्प छन्, गठबन्धन कि एमसीसी ? गठबन्धन बचाउनएमसीसीलाई वेवास्ता गर्दै प्रचण्ड–माधवसँग मुख मिलाएर अघि बढ्नुपर्नेछ, एमसीसी पारित गर्न गठबन्धन त्याग्न तयार हुनुपर्नेछ । यद्यपी तेस्रो तर सहायकका रुपमा अर्काे विकल्प पनि छ, जसले प्रधानमन्त्रीमाथि श्वास भरिरहेको छ । कथम सत्ता गठबन्धन एमसीसीकै कारण टुक्रिए प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर भएपनि पारित गराउने दृढ संकल्प लिएका छन् । यतिबेलै एक गम्भीर प्रश्न खडा हुनेछ, के एमसीसी पास गर्नदेउवा अघि बढे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकार र गठबन्धनबाट बाहिरिन्छन् ? माओवादीका नेताहरु भन्छन, ‘हो हामी गठबन्धन त्याग्न तयार छौं ।’

गठबन्धन छाड्नु परे पनि यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अडान छ ।विषय पेचिलो बन्दै गएपछि मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पालैपालो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार धाएका थिए । बुधबार फेरि प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच वालुवाटारमा भेटवार्ता भएको छ । तर प्रचण्ड–माधव एमसीसी परिमार्जन नगरि नस्वीकार्ने अडानमा अडिग भएपछि सकारात्मक संवाद भएको छैन ।

किनकि प्रचण्ड–माधवलाई गठबन्धन टुक्रिएपनि अर्काे अवसर प्राप्त हुनेछ, जसले निकटमा रहेको चुनावलाई सहज बनाउने छ । देशको अधिकांश जनमत नै एमसीसीको विपक्षमा उभिएका बेला जुन दलले पारित गर्न भूमिका खेल्छ, उसका लागि जनसमर्थन भड्किन सक्छ । त्यही सेन्टीमेन्टसँग खेलेर अघि बढ्दा प्रचण्ड–माधव चुनावलाई केही सहज बनाउने र जनताका नजरमा तारो पनि बन्न नपर्ने प्रक्षेपण गरिरहेका छन् । यसैले उनीहरुलाई हालसम्म एमसीसीको समर्थन गर्न रोकिरहेको छ ।

माओवादी रसमाजवादी सत्ताबाट बाहिरिएएमसीसीलगायतका मुद्दामा एमाले र कांग्रेसबीच हुनसक्ने सम्भावित सहकार्यका लागिदुवै तर्फबाट संवाद चलिरहेको छ । यसका लागि एमालेले विगतदेखि नै सभामुखलाई हटाउनुपर्ने र गठबन्धन तोड्नुपर्ने प्रस्ताव राख्दै आएको छ । तर एमाले र माओवादी मिल्न सक्नेमा प्रधानमन्त्री देउवा सशंकित छन् ।

प्रधानमन्त्री देउवाका लागि गठबन्धनमै सहमति जुटाएर पारित गर्ने विकल्प सबैभन्दा सुविधाजनक छ । जसका लागि उनी लगातार प्रयास पनि गरिरहेका छन् ।तीनै तहको निर्वाचनमा तालमेलसहित गठबन्धन कायम राख्ने ग्यारेन्टी गरे प्रचण्ड–माधव सकारात्मक हुन सक्छन् । तर पार्टीभित्रको दबाबले यतिसजिलै युटर्न गर्न उनीहरुका लागि कठिन छ । फलतः गठबन्धननै कठिन मोडमा पुगेको छ ।